Thursday, September 24, 2020
Home > मुख्य समाचार > एकै परिवारका ३ जनाको मृत्यु

एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुर, २८ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो । उनीहरु भूकम्प पीडित हुन् । उनीहरु बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए । यस्तै हनुमन्ते खोलाको बाढीका कारण भक्तपुर डुबानमा परेको छ । भक्तपुरका राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र जलमग्न छन् । दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे–निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईटाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । सिद्धि अस्पताल क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँको एउटा पुल बाढीले बगाएको छ । बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायताले आज बिहानैदेखि उद्धार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *