Friday, April 03, 2020
Home > मुख्य समाचार > राष्ट्रिय परिचयपत्र छपाईको काम सुरु

राष्ट्रिय परिचयपत्र छपाईको काम सुरु

राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले आजदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो । गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्ति र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ । तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यसहित केन्द्रले चालु आर्थिक बर्षमा १५ , अर्को बर्ष २५ र तेश्रो बर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ । पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ ।पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रिक परीक्षण गरी वितरण गरिनेछ । नेपालको संविधानको धारा ५१ मा राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको स्थापना गरिने उल्लेख छ । सोही व्यवस्था अनुसार राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र स्थापना गरि सरकारले राष्ट्रिय परिचय पत्र वितरण गर्नका लागि छपाईको काम सुरु गरेको हो । तीन बर्ष भित्र सबैलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने लक्ष्य लिएको केन्द्र संग अहिले प्रतिघण्टा ५ सय कार्ड छपाई गर्न सक्ने क्षमताको एउटा मात्रै मेसिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *