Sunday, January 17, 2021
Home > मुख्य समाचार > प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग

काठमाडौ, २४ मंसिर । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेको छ ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा आपत्ति जनाउँदै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गर्नु भएको हो । आज संघीय संसदको दिगो विकास तथा सुशासन समितिले मुलुकको सुशासनको अवस्था कमजोर हँुँदै गईरहेको अवस्थाबारे छलफल गर्न प्रहरी महानिरीक्षक खनाललाई बोलाएको थियो । समितिको सोही बैठकमा बोल्दै सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्ने आँट गर्न नसक्ने प्रहरी महानिरीक्षक खनाल पदमा रहिरहन नमिल्ने तर्क पनि गर्नु भयो । उहाँले सो हत्याकाण्डको अनुसन्धानको नाममा निर्दोषलाई पक्राउ गरी यातना दिने काम अभिलम्ब बन्द गर्न पनि प्रहरी महानिरीक्षक खनालको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न गर्नु भयो । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अझै पक्राउ गर्न नसकेपछि त्यसको सर्वत्र आलोचना भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *