Monday, April 06, 2020
Home > मुख्य समाचार > चन्द्रगढी विमानस्थल काँचुली फेर्दै

चन्द्रगढी विमानस्थल काँचुली फेर्दै

झापा, १३ पुष । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले काँचुली फेर्दै गएको छ ।

विमानस्थलको भौतिक तथा प्राविधिक अवस्था सुधार गर्न योजनाबद्ध ढंगबाट काम अघि बढाइएसँगै विमानस्थलको अवस्था सुध्रिदै गएको हो । वि.सं.२०२६ सालमा निर्माण भएको झापाको चन्द्रगढी विमानस्थलमा समय सापेक्ष प्रविधी र भौतिक रुपमा रुपान्तरण गर्ने कार्यले तिव्रता पाएको छ । करिब १५ सय मिटरको रनवे रहेको विमानस्थलमा पहिले भिएफआर प्रविधी अन्र्तगत विमानहरु अवतरण गर्दै आएकोमा अहिले विमानस्थलमा स्याटेलाइट (आरन्याप) बेस्ट डे आइएफआर प्रविधी प्रयोग गरिएको छ । पुरानो अवस्थामा विमान अवतरण गर्न कम्तिमा ५ हजार मिटरको भिजिविलिटी आवश्यक रहेकोमा अहिले नयाँ प्रविधिको प्रयोगसँगै २२ सय मिटर भिजिवीलिटी मै विमान अवतरण गर्न सक्ने भएको छ । सो प्रविधीका कारण मौसममा भैरहने परिवर्तनले समेत कम असर पार्ने बताइएको छ । अहिले इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) मा दिवा र रात्रि (डे–नाइट) सेवा सञ्चालनका लागि चन्द्रगढी विमानस्थलमा निर्माण कार्य धमाधम भइरहेको छ । आइएफआर सेवा डे–नाइट सञ्चालनका लागि विमानस्थलमा अहिले बत्ती (एयर फिल्ड लाइट) जडान भइरहेको विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले बताउनुभयो ।

यात्रुको चापलाई मध्यनजर गर्दै विमानस्थलले प्रतिक्षालयको क्षमतामा वृद्धि गरेको छ । त्यस्तै, विमानस्थललाई आर्कषक बनाउन विमानस्थल परिसरमा बगैँचा, चिल्डे«न पार्क र फ्रि वाइफाईको समेत व्यवस्था मिलाइएको छ । हाल सो विमानस्थलमा उडान भर्ने विमानको संख्या सँगै यात्रुहरुको चापसमेत बृद्धि भएको छ । हाल यो विमानस्थलमार्फत् करिब एक हजार यात्रुले दैनिक सेवा लिइरहेका छन्

विगतमा दैनिक चार वटा मात्रै उडान भर्ने यो विमानस्थल मार्फत् अहिले दैनिक आठ वटासम्म जहाजले उडान भर्दै आएका छन् । जहाज पार्किङस्थल विस्तार गर्ने कार्य पनि भइरहेकाले विमानस्थलबाट देशका विभिन्न स्थानमा समेत उडान भर्ने तयारी भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । यो विमानस्थलबाट पूर्वी नेपालसहित भारत, भुटान, बंगलादेश र म्यानमारसम्मका यात्रुले सेवा लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *