Friday, April 03, 2020
Home > राष्ट्रिय समाचार > इतिहास अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी

इतिहास अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी

काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शुन्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरुको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो । २०७४ सालमा त्रिभुवन विश्व विद्यालयमा इतिहास पढन एक जना विद्यार्थी पनि भर्ना भएनन् । विद्यार्थीहरु भर्ना नै नहुनेस्थित बनेपछि यसप्रति आकर्षण जगाउन छात्रवृत्तिको विशेष व्यवस्था गर्ने विषयमा परामर्श सुरु गर्नु परेको त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका प्रमुख प्राध्यापक डाक्टर शंकर थापाले जानकारी दिनु भयो । विभागले आज काठमाडौंमा इतिहासका विषयमा अध्ययनमा रुचि घटदै जानुको कारणको खोजी गर्न अन्तरक्रिया कार्यक्रमनै आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै विभागका प्रमुख प्राध्यापक डाक्टर थापाले इतिहासका विषयमा रुचि राख्ने व्यक्तिहरुलाई पनि समेटेर बिहानी कक्षा संचालन गर्ने प्रस्ताव पनि अघि सार्नु भयो ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर त्रिरत्न मानान्धरले इतिहास विषयमा विद्यार्थीहरुको रुचि जगाउन अन्तराष्ट्रिय सम्बन्ध जस्ता कूटनीतिक इतिहासका विषयलाई पनि पाठ्यक्रममा समावेश गर्न विभागलाई सुझाव दिनु भयो । लोक सेवा आयोगको पाठयक्रमबाट इतिहासका विषय हटाएपछि पनि इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको रुचि घटन गएको विभागको निष्कर्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *