Tuesday, August 04, 2020
Home > राष्ट्रिय समाचार > सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो

सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो

काठमाडौं, ३० पुष । कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका हुन् । हिजो मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए । कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रिय कार्य समितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कडा कार्वाही गर्न र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो । कर्मचारीहरुमाथि पटक–पटक दूव्र्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री पण्डितले मन्त्री, कर्मचारी जो भए पनि सरकारले गल्ती गर्नेलाई बाँकि नराख्ने पनि स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले सो घटनापछि मन्त्री यादव र सचिव झाबाट आएको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *