Sunday, March 29, 2020
Home > मुख्य समाचार > तराईमा आज होली मनाइँदै

तराईमा आज होली मनाइँदै

विराटनगर, ७ चैत्र । आपसी मेलमिलाप र सद्भावको सन्देशको पर्व होली आज तराईका जिल्लाहरुमा एकआपसमा रङ र अबिर लगाएर मनाइँदैछ ।

हिजो पहाडी जिल्लाहरुमा मनाइएको होली तराई क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट अर्थात आज मनाउने चलन छ । असत्यमाथि सत्यको जितको रुपमा मनाइने होलीको दिन वर्षभरि एकआपसबीचमा भएका कटुता र मनमुटावलाई बिर्सिएर सामूहिक रुपमा मनाउने चलन छ । रंग र खुसीहरु बाँड्ने पर्वको रुपमा परापूर्वकालदेखि नै होली मनाइँदै आइएको छ । प्राचीन युगमा नास्तिक हिरण्य कस्यपु नामक राक्षसले भगवान विष्णुका भक्त आफ्नै छोरा प्रह्लादलाई मार्न आगोले नजल्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई अग्निकुण्डमा हालेर मार्न पठाएकोे र दाजुको आदेशअनुसार होलिका प्रह्लादलाई काखमा लिएर आगोमा बस्दा होलिका जलेर नष्ट भएकी थिइन् । तर, प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर दलेर होली पर्व मनाउने परम्परा चलेको पौराणिक मान्यता छ । होली खेल्ने दिनभन्दा एकदिन पहिले राति होलिका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एकअर्कामाथि छ्याप्ने चलन छ । यसैगरी धार्मिकग्रन्थअनुसार यसैदिनलाई भगवान रामले लंकाका राजा रावणसँगको लडाइँमा रावणलाई हराई आफू अयोध्या फर्केको दिनमा अयोध्यावासीले रंग खेल्दै खुसी मनाएको दिन सम्झेर पनि होली मनाइँदै आएको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *