Sunday, January 17, 2021
Home > मुख्य समाचार > विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने प्रधानमन्त्रीको घोषणा

विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अतिवादी विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाडने घोषणा गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने लगायतका चन्द नेतृत्वको नेकपाको अतिवादी विध्वंसात्मक गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी पनि दिनु भयो । आज संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द नेतृत्वको नेकपाले हिंसा परित्याग नगरे नियन्त्रणमा लिने सरकारको नीति रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूल धारमा ल्याई छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्न ढिलाई नगर्ने पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैनकि भनेर चिन्ता नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारले असाधारण काम गरेपनि त्यसको प्रचार पार्टी भित्रैबाट हुन नसकेको गुनासो पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *