Monday, April 06, 2020
Home > मुख्य समाचार > सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर नभएको कारण आर्थिक विकास हुन सकेन

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर नभएको कारण आर्थिक विकास हुन सकेन

विराटनगर । सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर नभएकै कारण मुलुकको आर्थिक विकास हुन नसकेको उद्योगीहरुले बताएका छन् । उनीहरुले एकअर्काबीच विश्वासको अभावकै कारण सम्बन्ध सुमधुर हुन नसकेको बताए । सरकार र निजी क्षेत्रको सम्बन्ध बलियो नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनीहरुको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को दोस्रो साधारणसभाको उद्घाटन समारोहमा बोल्ने उद्योगीहरुले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेको आरोपसमेत लगाए । उद्योग वाणिज्य महासंघका वरिष्ठ सल्लाहकार चण्डीराज ढकालले बैंकको ब्याजदर घटाउने सहमति गरे पनि सरकारले अहिलेसम्म नहटाएको बताउनुभयो । उहाँले सरकारले गरेका सहमति कार्यान्वयन नगरेकै कारण सरकारसँगको सम्बन्ध निजी क्षेत्रको सुमधुर हुन नसकेको उल्लेख गर्नुभयो ।  महासंघका उपाध्यक्ष किशोर प्रधानले आफ्नो क्षेत्रमा लगानीको वातावरण बनाउने जिम्मा प्रदेश सरकारको भएको बताउनुभयो । उहाँले निजी क्षेत्रका सबै काम प्रदेश सरकारबाटै हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । प्रधानले विगतको जस्तै सामान्य कामका लागि पनि काठमाडौं जाने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आवश्यक ऐन कानुनको अभावमा जनअपेक्षाअनुसार काम नगर्न नसकेको स्वीकार्नुभयो । केन्द्र सरकार र स्थानीय सरकारको उभिने आधार भए पनि प्रदेश सरकारको उभिनेसमेत आधार नभएकाले काम गर्न नसकेको उहाँको भनाइ थियो । उहाँले केन्द्र सरकारको सिंहदरबार, प्रतिनिधिसभा भवन भएजस्तै स्थानीय तहको पनि आफ्नै भवनहरु भएकाले काम गर्न उनीहरुलाई सहज भएको दाबी गर्नुभयो । एक वर्षको अवधिमा प्रदेश सरकारले पनि भौतिक संरचना, ऐन, कानुनलगायत न्यूनतम आधार तयार गरेकाले अब विकासको गतिमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

उद्योगीसमेत रहनुभएका सांसद मोती दुगडले बजारमा पुँजीको अभावकै कारण नयाँ लगानी आउन नसकेको बताउनुभयो । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का, उपाध्यक्ष राजेन्द्र राउतलगायतले सबै प्रदेशले आर्थिक विकासको क्षेत्र पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कुन क्षेत्रबाट प्रदेशको समग्र आर्थिक विकास हुन्छ भन्ने पहिचान नगरेसम्म प्रदेशको विकास हुन नसक्ने उहाँहरुको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *