Sunday, March 29, 2020
Home > मुख्य समाचार > ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक

‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक

काठमाडौं । सरकारले ‘गणतन्त्र दिवस–२०७६’ को कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरि सार्वजनिक गरेको हो । गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताउनु भयो । उहाँले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराउनु भयो । जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । कार्यक्रम अनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा विशेष कार्यक्रम आयोजना गरिनेछ । राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको अंकित व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो । त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ । गणतन्त्र दिवसको सोही दिन साँझ दिपावली पनि गरिनेछ ।

गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगरको सफाई र श्रृंगार गर्नुपर्नेछ । त्यसैगरी सोही अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताउनु भयो । जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाईने गणतन्त्र दिवस–२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ । गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दुतावास, नियोग तथा वाणिज्य दुतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *