Sunday, July 05, 2020
Home > मुख्य समाचार > बालरोग विशेषज्ञ डा. अग्रवालको निधन, आजै गरियो अन्त्यष्टि

बालरोग विशेषज्ञ डा. अग्रवालको निधन, आजै गरियो अन्त्यष्टि

विराटनगर । विराटनगरका चर्चिक बालरोग विशेषज्ञ डा. विमल अग्रवालको उपचारका क्रममा निधन भएको छ । नोवेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएका अग्रवालको पार्थिव शरीरको आज विराटनगर होटखोलास्थित श्मशासन घाटमा अन्त्येष्टि गरिएको छ ।

मस्तिष्कघातका कारण निधन भएका बालरोग विशेषज्ञ डा. अग्रवालको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नोवेल अस्पतालमा भर्ना हुनुभएका डा. अग्रवालको मंगलबार राति साढे १० बजे निधन भएको थियो । ६ वर्षदेखि विराटनगरको कोशी अञ्चल अस्पतालमा कार्यरत ४२ वर्षीय अग्रवाल मुटुमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर नोबेल अस्पताल पुग्नुभएको थियो । त्यहाँ एन्जिओग्राफी गर्ने क्रममा उहाँलाई मस्तिष्कघात भएको थियो । अग्रवालको स्वास्थ्य अवस्था थप जटिल बनेको र अन्य अस्पताल लैजान सम्भव नभएपछि नोबेल अस्पतालमै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले डा. अग्रवालको ब्रेन डेड भइसकेको बताएका थिए । डा. अग्रवालको निधनले विराटनगरलाई अपूरणीय क्षति पुगेको महानगरका मेयर भीम पराजुलीले बताउनुभयो ।  विद्यालयस्तरदेखि नै डा.विमल तीक्ष्ण बुद्धि र केही गरौं भन्ने भावनाका भएको शिक्षक दिनेशराज सुवेदीले स्मरण गर्नुभयो । विराटनगरस्थित अरनिको माविमा विमललाई पढाएका सुवेदीले अल्पायुमै भएको निधनले आफू स्तब्ध भएको बताउनुभयो । चिकित्सक संघ मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले पेशागत संगठनमा समेत डा. अग्रवालले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले संघको कोषाध्यक्षमा रहेर चिकित्सकको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।  डा. अग्रवाल चिकित्सकसँगै विराटनगरको समाजको संस्कारयुक्त व्यक्तिसमेत भएको समाजसेवी वेनिगोपाल मुन्दडाको भनाइ छ ।

डा. विमल निधनको खबर पाएर अन्त्येष्टिमा पुगेका सर्वसाधारण भावविह्वल बनेका थिए । विराटनगरकी जानुका थापाले डाक्टर विमलले आफ्ना नानिहरु हेर्ने वित्तिकै निको हुने गरेको बताउनुभयो  अग्रवालको पार्थिव शरीरमा भाइ र भतिजाले दागबत्ती दिएका थिए । अग्रवालको अत्येष्टिमा विराटनगर महानगरपालिका मेयर भीम पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, चिकित्सक संघका अध्यक्ष डा. फरवार्ड सिलवाललगायत चिकित्सक, उद्योगी, व्यवसायी, समाजसेवी, शिक्षासेवी, राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । अग्रवालका श्रीमती र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *