Monday, August 10, 2020
Home > मुख्य समाचार > डेंगु नियन्त्रण गर्न प्रदेश १ सरकारले आवश्यक काम गरिरहेको मुख्यमन्त्रीको दाबी

डेंगु नियन्त्रण गर्न प्रदेश १ सरकारले आवश्यक काम गरिरहेको मुख्यमन्त्रीको दाबी

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले धरानमा फैलिएको डेंगु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताउनु भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रमको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्रीले यस्तो जानकारी दिनुभएको हो । उहाँले डेंगु नियन्त्रणका लागि चिकित्सकको टोली घटनास्थलमै रहेको, डेंगु प्रभावित बिरामीको निःशुल्क उपचारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ छुट्याएको, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ वटा भेन्टिलेटर डेंगु बिरामीकै लागि छुट्याइएको पनि बताउनुभयो । यस्तै मुख्यमन्त्री राईले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । उहाँले छुटेका विषय नीति तथा कार्यक्रममा समेट्ने आश्वासन दिँदै तराई पहाडबीच नीतिगत विभेद भयो कि भन्ने सांसदको जिज्ञासालाई आगामी बजेटले मेट्ने बताउनु भयो । यस्तै सांसद विकास कोष स्थापना गरेर ९३ जनै सांसदहरुले आवश्यक बजेट विनियोजन गर्ने पनि उहाँले बताउनु भयो । प्रदेशमा आगामि आर्थिक वर्षदेखि तीब्र गतिका साथ काम हुनेगरी ठोस ढंगले नीति तथा कार्यक्रम निर्माण गरिएको उहाँको भनाइ थियो । यस्तै प्रदेशसभाको शून्य समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई मार्नेसम्मका धम्की दिएर विज्ञप्ति निकाल्दैमा छुट हुन नहुने बताउनु भयो ।

शून्य समयमा बोल्दै सांसद सावित्रीदेवी रेग्मीले पूर्वमा पनि अटिजम् रोगबाट शिशहरु प्रभावित हुनेको संख्या बढेको भन्दै यसप्रति आवश्यक सचेतता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफल सकिएको छ । २३ जना सांसदहरुले नीति तथा कार्यक्रमको विषयमा बोल्नुभएको थियो । मंगलबार दिउँसो ३ बजे बस्ने बैठकले हालै सार्वजनिक नीति तथा कार्यक्रम पारित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *