Saturday, July 11, 2020
Home > खेलकुद समाचार > नेपालले भोलि टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै

नेपालले भोलि टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

सिरिजअन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले भोलि पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ ५ः१५ मा सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ । शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । तर, दोस्रो भेटमा नेपाल जिम्बावेलाई हराउँदै बदला लिन चाहन्छ । यस्तै नेपाल जिम्बावेलाई हराएर सिरिजको उपाधि होड बलियो बनाउन चाहन्छ । आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो । जसमा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए । सिरिजको तालिकामा जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टिमले सिरिजको उपाधि जित्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *