Wednesday, January 29, 2020
Home > मुख्य समाचार > रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम सुरु

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम सुरु

रानी–विराटनगर–इटहरी–धरान सडक अन्तरगत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्य चौक क्षेत्रको काम सुरु भएको छ । विवादका कारण रोकिएको काम स्थानीयबासीकै सहमतिमा सुचारु भएको हो ।

रानी–विराटनगर–इटहरी–धरान सडकलाई सिक्स लेन बनाउनका लागि विभिन्न खण्डमा काम भइरहँदा इटहरीको मुख्य चौक क्षेत्रमा विवादका कारण रोकिएको थियो । मुख्य बजार क्षेत्रमा रहेका धेरै घरहरु भत्कने भन्दै स्थानीयले विरोध जनाएपछि काम हुन सकिरहेको थिएन । तर सोमबार इटहरी चौकबाट उत्तरमा बाटो पश्चिमतर्फको नाला खन्ने काम सुरु गरिएको छ । दुवैतर्फ गरि ६५ मिटर सडक क्षेत्र कायम गर्ने गरी सहमति भएपछि काम शुरु गरिएको हो । रानी विराटनगर इटहरी धरान सडक योजनाका इञ्जिनियर गौतमकुमार देवका अनुशार इटहरी बजार क्षेत्रका आठ वटा घरको २० देखि २५ सेन्टीमिटर भत्कने अवस्था रहेको भएपनि ठूलो क्षति हुने अवस्था छैन । सबैको सहमति भएपछि काम सुरु भएको उहाँको भनाइ छ ।

रानी विराटनगर इटहरी धरान ३९ किलोमिटर क्षेत्र मध्ये ३४ किलोमिटरमा काम भई रहेको जनाइएको छ । सो सडक योजनाको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गरिसक्नु पर्ने भएपनि इटहरीमा सिमा कायम गर्ने काम समेत हुन सकेको थिएन । सडक विस्तार गर्ने विषयमा सहमति भएर नै काम सुरु भएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी रोहित प्रसाईको भनाइ छ । सडक विस्तारमा अब कुनै विवाद नरहेको भन्दै उहाँले कामलाई तिव्र गतिमा अघि बढाउन आफुहरुले पनि समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

अन्य व्यापारी तथा स्थानीयबासीले समेत ढिलै भएपनि सडक निर्माणको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै चाँडो भन्दा चाँडो काम सक्नुपर्नेमा जोड दिएका छन् ।  सडक क्षेत्र विस्तार गर्ने क्रममा विद्युत पोल तथा खानेपानीको पाइप समेत समयमै व्यवस्थीत गर्नुपर्ने अवस्था रहेको छ । खानेपानीको धेरै पाइपहरु ६५ मिटर क्षेत्रमै भएको कारणले धेरै क्षति पुग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *