Tuesday, July 07, 2020
Home > मुख्य समाचार > मिक्लाजुङस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु

मिक्लाजुङस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु

आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धनको प्रयास सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रबद्र्धनको सुरुवात भएको हो ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ मा रहेको चुली पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा छ । घनाजङ्गलले ढाकेको चुली पोखरी ‘डब्लु’ आकारको ठूलो चट्टानको शीरमा झण्डै २ बिघा क्षेत्रमा फैलिएको छ । सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्न खोजिए पनि त्यसक्षेत्रमा पर्याप्त मानिसको आवात जावतको सम्भावना हाललाई कमजोर छ । पोखरीको संरक्षण तथा प्रबद्र्धनका लागि प्रदेश सरकारको पहलमा आफूहरुले काम गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो ।

चुलीपोखरी क्षेत्रमा ३५ घर रहेका छन् । धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा परिचित चुलीपोखरीको विकास सुरु भएपछि स्थानीय खुसी छन् । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष ०७५÷०७६ मा छुट्याएको चार लाख रकमले चुलीपोखरीलाई घेराबार गर्ने गरिएको छ । चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारको सहयोगमा सडक निर्माण देखि सिंढी निर्माणको काम सुरु गरिएको २ नम्बरका वडाध्यक्ष गौरीप्रसाद राईले बताउनुभयो । पर्यटनको प्रचूर सम्भाव्यता रहे पनि चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धन नहुँदा सुनसान जस्तै छ । चुरे पहाडको थाप्लोमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपूर्ण स्थान रहको त्यहाँका स्थानीय भगीरथ अर्यालले बताउनुभयो ।

उर्लाबारीको किशान चोकदेखि १५ किलोमिटर उत्तर क्षेत्रमा अवस्थित चुली पोखरीबाट डब्लू हिल, मिक्लाजुङ राजारानी र पुत्र बुद्धको उत्पत्ति स्थल कुईँनेटार र बुद्धटार आकर्षण रहेका छन् । चुली पोखरी पुग्नका लागि किशान चौक र उर्लाबारी चोक उत्तरबाट जान सकिन्छ । किशान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुलीपोखरी पुगिन्छ ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदैछ । सरकारका यसखाले कार्यक्रम सफल बनाउन पूर्वाधार निर्माण आवश्यक छ । चुली पोखरीजस्ता प्राकृतिक पूर्वाधारको संरक्षण र विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *