Sunday, December 15, 2019
Home > मुख्य समाचार > विराटनगर महानगरपालिकाद्धारा नगर रक्षक भर्ना प्रक्रिया सुरु

विराटनगर महानगरपालिकाद्धारा नगर रक्षक भर्ना प्रक्रिया सुरु

विराटनगर महानगरपालिकाले नगर रक्षक भर्ना प्रक्रिया सुरु गरेको छ । १८ पदका लागि माग गरिएको नगर रक्षकका लागि ३ सय ७५ बढीले आवेदन दिएका छन् ।

महानगरपालिकाले विभिन्न पदको नगर रक्षकका लागि आवेदन आव्हान गरेपछि यतिखेर आवेदकहरुको छनौट कार्य चलिरहेको छ । नगररक्षकमा विभिन्न १८ पदका लागि महानगरले आवेदन आव्हान गरेकोमा ३ सय ७७ जना आवेदन दिएका छन् । आवेदन दिएका प्रशिक्षार्थीहरुको यतिखेर शारीरिक तन्दुरुस्ती परीक्षण कार्य चलिरहेको छ । आवेदकहरुको शारिरीक तन्दुरुस्ती परीक्षणको जिम्मेवारी जिल्ला प्रहरी कार्यालय मोरङलाई दिएपछि जिल्ला प्रहरीले उनीहरुको स्वास्थ्य र शारिरीक अवस्था परीक्षण गरिरहेको छ । त्यसका लागि विराटनगर–१ पोखरीयास्थित जिल्ला प्रहरी कार्यालय परिसर नजिकै अस्थायी क्याम्प राखेर आवेदकहरुको परीक्षण हुँदैछ । सो क्रममा उनीहरुलाई शारिरीक चेकजाँच गर्नुका साथै लङजम्प, हाइजम्प र दौड लगायतको प्रतियोगितामा सहभागी गराइँदैछ । सहभागी परीक्षार्थीहरुले प्रतिस्पर्धामा प्राप्त गरेको प्राप्तांकसहित महानगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो ।

महानगरपालिकाले इन्सपेक्टर तहमा १, सई १, असई १, हवल्दार ३ र जवान १२ गरी १८ जनाका लागि भर्ना प्रक्रिया खुलाएको हो । ती पदहरुका लागि मोरङ, सुनसरी र झापासहित प्रदेशका विभिन्न जिल्लाका युवाहरुले आवेदन दिएका छन् । शारीरिक परीक्षणमा सहभागि हुन आएका कटहरी गाँउपालिकाका गजेन्द्र पासवानले बेरोजगार भएर घरमै बसेको अवस्थामा नगर रक्षकको भर्ना खुलेको जानकारी पाएपछि रोजगार पाउने आशमा आवेदन दिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले प्राप्तांकको आधारमा उतीर्ण भएका परीक्षार्थीहरुको विवरण उपलब्ध गराएपछि अन्तरवार्ताको माध्यमबाट १८ जना नगररक्षकहरु छनौट गरिने विराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो ।

हाल विराटनगर महानगरपालिकाकामा विभिन्न पदका १३ जना नगररक्षक कार्यरत छन् । आवश्यक नगररक्षकहरुको अभाव भएका कारण महानगरपालिकाले नगररक्षक भर्ना प्रक्रिया खुलाएको हो । नगररक्षकमा भर्ना खोलिएपछि बेरोजगार युवाहरुमा रोजगार हुने आशा पलाएको छ । १८ पदका लागि ३ सय ७७ जना युवाहरुको आवेदन परेकाले पनि बेरोजगारको समस्यालाई प्रतिनिधित्व गरेको छ । युवाहरुका लागि थप रोजगारका अवसरहरु सृजना गर्नु आवश्यक छ । मकालु समाचारका लागि नवीन कर्णको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *