Thursday, April 02, 2020
Home > मुख्य समाचार > काठमाडौं—निजगढ द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सकियो

काठमाडौं—निजगढ द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सकियो

काठमाडौं—निजगढ (काठमाडौं—तराई) द्रुत मार्गको करिब २८ दशमलव ९ किलोमिटरको काम सतप्रतिशत भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले आज पत्रकार सम्मेलन गरि सडक निर्माणका लागि आवश्यक जग हाल्ने काम २८ दशमलव ९ किलोमिटरमा सतप्रतिशत भएको जनाएको हो । कुल ११ दशमलव ३५ किलोमिटर सडकको ८० प्रतिशत र बाँकी १५ दशमलव ३ किलोमिटर सडकको काम ८० प्रतिशतभन्दा कम काम भएको सेनाले जनाएको छ । ७२ दशमलव ५ किलोमिटर लम्बाइको द्रुतमार्गमा ५५ दशमलव ५ किलोमिटर सडक, ६ दशमलव ४१ किलोमिटर सुरुङ र १० दशमलव ५९६ किलोमिटरमा पुल बन्ने नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख शरदलाल श्रेष्ठले बताउनुभयो ।

द्रुतमार्गमा तीन वटा सुरुङमार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । विशेष प्रकारका १६ र अन्य ७१ वटा पुलहरु निर्माण हुनेछन् । त्यसैगरी तीन ठाउँमा सुरुङमार्ग निर्माण गरिनेछ । महादेवडाँडामा ३ दशमलव ३५५, धेद्रेमा १ दशमलव ६३० र लेनडाँडामा १ दशमलव ४३० किलोमिटर सुरुङ मार्ग निर्माण हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । द्रुत मार्ग निर्माण सम्पन्न भएपछि खोकनादेखि निजगढसम्म पुग्न १ घण्टाको समय लाग्ने छ । ४ लेनमा बन्ने सडकको पहाडी खण्डमा २५ मिटर र तराईको क्षेत्रमा २७ मिटर चौडाई हुनेछ । भौगोलिक अवस्था, कार्य जटिलता, लगायतका विषयलाई मध्यनजर गरेर निर्माण कार्यर्लाइ प्राथमिकता दिइएको सेनाले जनाएको छ । सेनाले अबको ४ वर्षभित्रमा द्रुतमार्ग निर्माणको काम सम्पन्न हुने जनाएको छ । विस. २०८१ बैशाखसम्ममा द्रुत मार्ग निर्माणको काम सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *