Tuesday, July 07, 2020
Home > राष्ट्रिय समाचार > नागरिक उड्डयानसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी

नागरिक उड्डयानसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले नागरिक उड्डयानसम्बन्धी विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिनुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कर्मचारीको आन्दोलनबाट विधेयक नरोकिने बताउनुभएको हो । कार्यक्रममा कर्मचारीहरुले प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएपछि मन्त्री भट्टराईले प्राधिकरणमा क्षति हुने गरी कुनै गतिविधि भए संलग्नबाटै क्षतिपूर्ति भराइने बताउनुभयो । उहाँले आफु छलफल गर्न तयार भएको तर कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएको भन्दै आन्दोलनबाट कन्भिन्स हुन नसक्ने बताउनुभयो । आन्दोलन गरेर अवरोध गर्न खोज्नेलाई कारबाही गर्ने चेतावनी पनि दिनुभयो । कार्यक्रममा आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरणलाई विभाजन गर्नेगरि विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो । गत साउनमा मन्त्रीपरिषद्ले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन र नेपाल हवाई प्राधिकरण ऐन गरी दुई छुट्टाछुट्टै ऐन ल्याउन संस्कृति पर्यटन तथा नगारिक उड्डयान मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको थियो । यससँगै नेपाल नागरिक उड्डयान प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा छुट्याउने गरी ऐन आउने भएको हो । अध्यक्ष यादवले सरकारले प्राधिकरणलाई टुक्रा टुक्रा पार्न लागेको भन्दै आन्दोनलको घोषणा गरिसकेको बताउनुभयो ।

विधेयकको विरोधमा आधिकारीक ट्रेड युनियनले गत मंसिर २९ गते नै विभिन्न चरणका आन्दोलनको घोषणा गरेको थियो । युनियनले पुष १६ देखि १८ सम्म कालो पट्टी बाधेर काम गर्ने, पुष २० देखि २२ गते सम्म पेन डाउन गर्ने तथा पुष २३ गते देखि २५ गते सम्म महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने लगायतका विरोधका कार्यक्रम घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *