Monday, April 19, 2021
Home > मुख्य समाचार > निषेधाज्ञाको विराटनगरमा ठाडो उल्लंघन

निषेधाज्ञाको विराटनगरमा ठाडो उल्लंघन

विराटनगर १६ भाद्र
कोरोना संक्रमतिको संख्या व्यापक रुपमा बढिरहेको बेला प्रशासनले जारी गरेको निषेधाज्ञाको विराटनगरमा ठाडो उल्लंघन भएको पाइएको छ ।
कोरोना महामारीको अन्त्य भइसकेको जसरी नै बजार र पसलहरुमा सर्वसाधारणको भीड लाग्न थालेको छ । जसले गर्दा कोरोनाको महामारी अझै भयावह हुने सम्भावना देखिएको छ । पछिल्लो समय भदौ १० गतेदेखि १७ गतेसम्म मोरङ जिल्लाभर निषेधाज्ञालाई खुकुलो बनाइएको छ । मध्यान्ह १२ बजेसम्म बजार, पसल र व्यवसाय सञ्चालन गर्न दिइएको छ । यो समयमा मात्रै होइन दिउँसोको समयमा समेत बजारमा अत्यधिक भीड लाग्ने लागेको छ । भीड बढ्न थालेपछि प्रहरी प्रशासनले समेत वास्ता गर्न छाडेको छ । निषेधाज्ञाकै बीचमा पनि भीडभाड हुन थालेपछि अब सबै किसिमका व्यवसायहरु सुचारु गर्नुपर्ने आवाज उठ्न थालेको छ । यसैबीच विराटनगरको धरानरोडस्थित कदमाहा सहकारी संस्थामा अत्यधिक भीड लागेको छ । मलको चरम अभाव झेलिरहेका किसानहरु भीडकै बीच पनि मल लिन तँछाडमछाड गर्ने गरेको पाइएको छ । सहकारी संस्थाले सामाजिक दूरीको समेत ख्याल नगरी मल बिक्री गरिरहेको पाइएको छ । तर, सहकारीका अध्यक्ष राजकुमार सिंह भने किसानको बाध्यताका कारण भीड लागेको दाबी गर्नुहुन्छ । लामो समयदेखि मलको अभाव झेलिरहेका किसानहरु मल पाउने भएपछि भिडभाड बढेको अध्यक्ष सिंहले बताउनुभयो । धान गोडमेल गर्ने समय बितिसक्दा पनि किसानले अभावकै कारण मल लगाउन पाएका छैनन् । समयमै धान रोपे पनि मल अभावका कारण उत्पादन घट्ने चिन्ताले सताएको किसानहरुको भनाइ छ । सरकारले कृषिलाई पहिलो प्राथमिकता राखेको भने पनि समयमै मल उपलब्ध गराउन नसकेको मोरङ जहदाका किसान हरिकृष्ण यादवको गुनासो छ । उहाँले कोरोनाको जोखिममा पनि मल लिन आउनु परेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *