Wednesday, October 21, 2020
Home > मुख्य समाचार > संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरु आइसोलेसन निर्माणमा जुटे

संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरु आइसोलेसन निर्माणमा जुटे

झापा २४ भाद्र

कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएपछि झापाका स्थानीय तहहरुले धमाधम आइसोलेसन निर्माण गरी सञ्चालन गर्न थालेका छन् । पूर्वमा संक्रमित उपचारका लागि व्यवस्था गरिएका अस्पतालमा संक्रमित भरिएपछि स्थानीय सरकार आफैं आइसोलेसन निर्माणमा जुटेका हुन् ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्थानीय तहमै आइसोलेसन निर्माण गर्न निर्देशिका जारी गरेको थियो । जिल्लामा समेत संक्रमित बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति झापाले व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा २५ शैय्याको आइसोलेसन निर्माण गर्ने निर्णय गर्यो । जिल्लामा समुदायस्तरमा समेत कोरोना देखिएपछि धेरैजसो पालिकाहरुले आइसोलेसन वार्डको व्यवस्थापन गरिसकेका छन् । जिल्लाका १५ स्थानीयतहहरुमध्ये संक्रमितको संख्या बढी रहेका पालिकाहरुले आइसोलेसन निर्माण गरिसकेका छन् । कतिपय पालिकाले स्थानीय स्वास्थ्य चौकीलाई र कतिपयले सामुदायिक विद्यालयको भवनलाई आइसोलेसनका रुपमा विकास गरेका छन् । झापाको दमक, गौरादह, अर्जुनधारा, मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ती गाउँपालिकाले आइसोलेसन वार्ड निर्माण गरिसकेका छन् । स्थानीय स्रोत, साधन र जनशक्तीले भ्याएसम्म आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास गरिएको स्थानीय पालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि दमक अस्पताल र मेची अञ्चल अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको थियो । झापाका स्थानीय तहहरूले शङ्कास्पद कोरोना सङ्क्रमणका बिरामीलाई भद्रपुरस्थित मेची अञ्चल अस्पताल र दमकको दमक र आम्दा अस्पतालमा पठाउँदै आएका थिए । संक्रमितहरुलाई भने प्रदेश सरकारले निर्माण गरेको आइसोलेसन र अस्पतालमा पठाउने गरिएको थियो । अहिले भने संक्रमितलाई सम्बन्धित पालिकाको आइसोलेसनमा र लक्षणसहितका संक्रमितलाई मेची प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा राखिन थालिएको छ ।
झापामा आइसोलेसनमा रहेका सक्रिय संक्रमित १ सय ५० भन्दा बढी छन् । जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५० नाघिसक्दा ३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसँगै ‘कन्ट्रयाक ट्रेसिङ्ग’ मा समेत नपरेका समुदायका मानिसहरुमा समेत संक्रमण पुष्टि भइसकेको छ । जसले गर्दा झापामा संक्रमण तीव्ररुपमा फैलिने जोखिम बढेको छ । त्यसैले गर्दा अब आइसोलेसन वार्डहरुलाई व्यवस्थित गर्नुपर्ने बेला आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *