Sunday, September 27, 2020
Home > मुख्य समाचार > नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुको आग्रह

नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुको आग्रह

काठमाण्डौ २८ भाद्र
नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमतालहरु फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फट्ने खतरा रहेको देखाएको हो । जलवायु परिवर्तनको कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकोले सतर्कता अपनाउन विज्ञहरुको आग्रह छ । शून्य दशमलव ०२ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा रहेको इसिमोडका वरिष्ठ जलवायु विज्ञ डा. अरुण श्रेष्ठले बताउनुभयो । त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल खतरामा रहेका छन ।
प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमतालहरुलाई खतराको सूचीमा रखेको छ । नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ । तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल यस्तो खतरामा रहेका छन् । कहिले फुट्न सक्छन् भनेर मिति तोक्ने सक्ने अवस्था नभएपनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेको सतर्क रहन उहाँले आग्रह गर्नुभयो । जोखिम न्यूनीकरणका लागि नेपालको तर्फबाट धेरै कामहरु भएको उहाँको भनाइ छ । जोखिम न्यूनिकरणको पहिलो पाइला स्वरुप अहिलेको रिपोर्ट सार्वजनिक भएको उल्लेख गर्दै उहाँले अब स्थलगत अध्ययन गरी रिपोर्टलाई थप परिस्कृत गर्नुपर्ने बताउनुभयो । अहिलेको अध्ययन भू—उपग्रहले खिचेको तस्वीरहरुको विश्लेषण हो । विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जल सतह घटाउने काम समेत भएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन बढ्दै जाने उहाँले बताउनुभयो । अब पानीको सतह कम गर्दै पूर्व सूचना प्रणालीको विकास गर्नुपर्ने उहाँको भनाई छ ।
तालहरूको प्राकृतिक बाँध, स्रोत हिमतालको गतिविधि तथा वरिपरिको अवस्थाको अध्ययन गरी फुट्ने खतरा देखिएको हो । मौसमको अवस्था, भौगर्भिक अवस्था र हिमताल वरपर हुने मानवीय गतिविधिलाई अध्ययन नगरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हिमतालहरु फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने उल्लेख गरिएको छ । नेपालको जलविद्युत क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३,६२४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये २ हजार ७० वटा नेपाल, १,५०९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *