Sunday, September 27, 2020
Home > आर्थिक समाचार > मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित

मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित

मोरङ सुन्दरहरैंचा २८ भाद्र
मोरङको सुन्दरहरैंचाका किसानहरु केरा बिक्री नभएर बारीमै कुहिन थालेपछि चिन्तित बनेका छन् । लकडाउनका कारण बजारहरु पूर्णरुपमा नखुल्दा तथा ढुवानीमा देखिएको अवरोधका कारण केरा बिक्री नभएपछि समस्या भएको हो । मोरङको सुन्दरहरैंचा–७ गोठगाउँ क्षेत्रमा लगभग ५ सय बिघामा केरा खेती गरिएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । यस क्षेत्रबाट राजधानी लगायतका ठाउँहरुमा हरेक वर्ष करोडौंको केरा निर्यात हुने गरेको छ । तर यसवर्ष लगातारको लकडाउन र ढुवानीमा देखिएको अवरोधका कारण केरा विक्री नभएपछि किसानहरु चिन्तित बनेका छन् । यहाँका अधिकांश किसानले जग्गा ठेक्का लिएर ऋण काढेर केरा खेती गर्दै आएका छन् । जसबाट अघिल्ला वर्षहरुमा उनीहरुले प्रति विगाहा वर्षको १ देखि २ लाखसम्म आम्दानी लिंदै आएका थिए । तर यसवर्ष केरा बिक्री नभएर बोटमै कुहिने अवस्था आएपछि लगानीसमेत नउठ्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
यस क्षेत्रका अधिकांश किसानले स्थानीय सुन्दरपुर साना किसान सहकारी संस्थाबाट ऋण लिएर केरा खेति गर्दै आएका छन् । सो सहकारीले आफ्नो लगानीको ठूलो हिस्सा केराखेतिमा लगाएको छ । जसका कारण किसानको केरा विक्री नहुँदा सहकारीको लगानीसमेत जोखिममा परेको सहकारीका अध्यक्ष रविन्द्र आचार्यको गुनासो छ । सरकारले लकडाउनको अवस्थामा समेत कृषिजन्य उत्पादनलाई ढुवानी र विक्रीमा अवरोध नगर्ने भने पनि व्यवहारमा त्यो लागू हुने नसकेको केरा किसानहरुको गुनासो छ । उनीहरुले जुनसुकै अवस्थामा पनि कृषिजन्य उत्पादनको ढुवानी र विक्रीका लागि सहज वातावरण बनाइ दिन मागसमेत गरेका छन् । यता किसानको बारीबाट केरा खरिद गरेर विभिन्न बजारमा लैजाने व्यापारीहरुको समेत आफ्नै पीडा छ । सरकारले कृषिजन्य सामाग्रीमा अवरोध नगर्ने भनेपनि ढुवानीका क्रममा स्थानीय पालिका र जिल्ला अनुसारको नियम फरक भएका कारण अवरोध हुँदा समस्या हुने गरेको व्यापारीहरु बताउँछन् । नजिकैको शहरुहरुमा निकै महंगोमा विक्री हुने केरा ढुवानीकै समस्याका कारण बारीमै कुहिएर जाने अवस्था आउनु निकै दुःखदायी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *