Thursday, September 24, 2020
Home > आर्थिक समाचार > मोरङको बेलबारी–२ मा सुरु गरेको सामूहिक पशुपालन फस्टाउँदै

मोरङको बेलबारी–२ मा सुरु गरेको सामूहिक पशुपालन फस्टाउँदै

बेलबारी ३१ भाद्र

मोरङको बेलबारी नगरपालिकाले सुरु गरेको सामूहिक पशुपालन उत्कृष्ट बन्दै गएको छ । बेलबारी नगरपालिका वडा नम्बर –२ लालभित्तीमा समूह बनाएर सुरु गरिएको व्यावसायिक पशुपालन फस्टाउँदै किसानको आकर्षणसमेत बढ्न थालेको छ । वडा कार्यालय तथा त्यस वडाभित्र रहेका सामुदायिक वन समूहले सहयोग गरेपछि वडाभित्रै ६० जनाभन्दा बढी किसानहरु व्यावसायिक पशुपालनमा लागेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चिनाउन सफल मोरङको रमिते सामुदायिक वन उपभोक्ता समूहले तीन वर्ष अगाडि जगलभित्र नै झाडी फाँडफुँड गरेर उन्नतको जातको घाँस रोपेको थियो । १२ बिघाभन्दा बढी क्षेत्रफलमा रोपिएको घाँस क्षेत्र उपभोक्ताहरुलाई नै बाँडिदिएपछि सामूहिक पशुपालतर्फ आकर्षण बढेको रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर राई बताउनुहुन्छ । केही वर्षअघिको उराठलाग्दो ठाउँलाई अहिले रमिते पर्यटकीय क्षेत्रको रुपमा विकास भैरहेको छ । संघ, प्रदेश तथा स्थानीय सरकार र सामुदायिक वनकै लगानीमा सुरुङ मार्गसहितको भ्यूटावरसमेत निर्माण भैरहेको बताउँदै आफूहरुले पर्यटकीय विकास गरिरहँदा आफ्नो सामाजिक दायित्वसमेत पूरा गरिरहेको रमिते सामुदायिक वनका अध्यक्ष पे्रमबहादुर राईले बताउनुभयो । अहिले सामुदायिक वनले उपलब्ध गराएको वन क्षेत्रमा मेनदुला, किम्बु, स्टाइलो, इन्दु, इपिल, भटमासे, राईखन्यु, बकाईनोलागयतका घाँसका प्रजातिहरु लहलह भएका छन् । समूहमा व्यावसायिक खेती गर्नेहरुलाई प्रोत्साहन गर्न नगरपालिकाको नीतिअनुसार वडा कार्यालयले वडाको सिलिङ बजेटबाटै प्रतिसमूह २ लाख रुपैयाँ दिएको बेलबारी नगरपालिका वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमको भनाइ छ । अध्यक्ष गौतमका अनुसार वडा कार्यालयले ३ वटा समूहलाई बाख्रा, ४ वटा समूहलाई बँगुर र एउटा समूहलाई तरकारी खेती गर्न प्रोत्सान स्वरुप २ लाखका दरले रकम उपलव्ध गराको छ । वडा तथा सामुदायिक वनले आफै प्रोत्सान गर्न थालेपछि कृषकसमेत उत्साहित भएर पशुपालनमा लागिपरेका छन् । उनीहरुले खोरको व्यवस्थापनमा समेत विशेष ध्यान दिएका छन् । वनक्षेत्र नजिकै हुनाले बेलबारी २ लालभित्ती त्यसमा पनि लोकमार्गदेखिको उत्तरी क्षेत्र चरणका लागि पनि सहज भएकोले बाख्रा पालनमा सहयोग पुगेको किसानको विचार रहेको छ । वडा कार्यालय तथा सामुदायिक वनले सहयोग गरेपछि जग्गा लिजमा नै लिएर बाख्रा पालन गरिरहेको बाख्रा पालन गर्दै आएका बेलबारी –२ का गोपाल न्यौपाने बाख्रापालनबाट राम्रो आमदानी लिन सकिने बताउनुहुन्छ । बेलबारी नगरपालिकाले एक वडा एक उत्पादनमा जोड दिएपछि वडा नम्बर २ ले मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक बाख्रापालनलाई प्राथमिकतामा राखेको छ । मासुमा रहेको परनिर्भरतालाई कम गर्न बेलबारी नगरपालिका वार्ड न २ द्वारा थालिएको योजना र सो योजनालाई सफल पार्न रमिते सामुदायिक वनले दिएकको योगदानलाई सबैले अनुसरण गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *