Monday, April 19, 2021
Home > अन्तराष्ट्रिय समाचार > कोरोनाका कारण रंगमञ्च ठप्प भएपछि कलाकारहरु अन्य पेशा व्यवसायतर्फ पलायन हुने क्रम बढ्दो

कोरोनाका कारण रंगमञ्च ठप्प भएपछि कलाकारहरु अन्य पेशा व्यवसायतर्फ पलायन हुने क्रम बढ्दो

बिराटनगर २३ असोज
लकडाउनले धेरै व्यक्तिको रोजीरोटी खोसिदिएको छ । रोजगारी गुमाएर कतिपय मानिसहरू भौतारिरहेको अवस्था छ भने कतिपय रोजगारीको खोजीमा छन् । तर, हरेक चुनौतीले सम्भावना बोकेको हुन्छ । चुनौतीलाई सम्भावनामा बदल्न सकियो भने त्यसले जीवनमा सकारात्मक प्रभाव पार्छ भन्ने प्रशस्तै उदाहरण भेटाउन सकिन्छ । कोभिडका कारण कामविहीन भएका कतिपय व्यक्तिहरूले यतिबेला घरमै सानोतिनो पेशा व्यवसाय गरेर आम्दानी गर्न सुरु गरिसकेका छन् ।  मोरङ झोराहाटका भरत गुरागाईंको परिचय भनेको साहित्यकार र कलाकार नै हो । विगत तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ गुरागाईं । खाँदाखाँदैको सरकारी शिक्षकको जागिर छाडेर नाट्य क्षेत्रमा लाग्नुभएका गुरागाईं पछिल्लो समय भने घरमै उत्पादन कर्ममा लाग्नुभएको छ । अन्य क्षेत्रलाई झैं नाट्य क्षेत्रलाई पनि कोरोनाले असर पारेपछि झोराहाटस्थित नाटकघरमा ताला लगाएर यतिबेला आफ्नै घरमा बट्टाई पालन सुरु गर्नुभएको छ उहाँले । कोरोनाले निम्त्याएको आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले बट्टाई पाल्न सुरु गरेको उहाँ बताउनुहुन्छ । एक सयबाट सुरु गर्नुभएका गुरागाईंको खोरमा अहिले ५ सय बट्टाई छन् । ती बट्टाईले धमाधम अण्डा पार्न सुरु गरेका छन् । प्रतिगोटी अण्डा ७ रुपैयाँले बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार भाले बट्टाई प्रतिगोटा २ सय र पोथी बट्टाई २ सय ५० रुपैयाँले बिक्री हुने गरेको छ । अण्डाको खपत राम्रो भइरहेको उहाँले बताउनुभयो । अब घरमै चल्ला उत्पादन गर्ने योजनाका साथ ह्याचिङ मेसिन र जेनेरेटरसमेत खरिद गरिसक्नु भएको छ गुरागाईंले । ह्याचिङ मेसिनमा अण्डा हालेको १५ देखि १७ दिनमा चल्ला उत्पादन हुने उहाँको भनाइ छ । प्रतिगोटा चल्लाको मूल्य ४० रुपैयाँ पर्छ । तर, चल्लाको माग बढी भएका कारण आफूले थप बट्टाई खोरमा लगाउन नपाएको उहाँले सुनाउनुभयो । चल्ला अभाव भएकै कारण आफैंले चल्ला उत्पादन गर्ने तयारी गरेको उहाँको भनाइ छ । चल्ला उत्पादन गरेर चाँडै नै ५ हजार बट्टाई पाल्ने तयारी गरेको गुरागाईंले बताउनुभयो । त्यसका लागि उहाँले खोरसमेत तयार गरिसक्नुभएको छ । उत्पादन गर्न सके अण्डाको माग बजारमा अत्यधिक रहेको उहाँको भनाइ छ । बट्टाईको अण्डा खाँदा थाइराइड, दम, मुटुलगायतका समस्या कम हुने जनाइएको छ । गुरागाईंको यो काममा आइटी अध्ययन गरेका छोराले साथ दिइरहेका छन् । छोराले युट्युुवमा हेरेर खोरको डिजाइन गर्नेदेखि बट्टाई पाल्ने तरिकाबारे जानकारी लिने गरेको गुरागाईंले बताउनुभयो । फुर्सदको समयमा त्यतिकै बस्नुभन्दा केही काम गर्दा नकारात्मक सोच नआउने र व्यस्त हुँदा शरीर पनि स्वस्थ हुने भएकाले बट्टाई पाल्न सुरु गरेको उहाँको भनाइ छ । त्यसो त गुरागाईंले बट्टाई मात्रै होइन स्थानीय जातका कुखुरा र खसी पनि पाल्नुभएको छ । कुखुराको अण्डाको पनि माग अत्याधिक रहेको उहाँले सुनाउनुभयो । उत्पादन गर्न सके बजारको समस्या नरहेको उहाँको अनुभव छ । कुखुरा र खसी पालनलाई पनि अझै व्यापक बनाउने योजना रहेको गुरागाईंले जानकारी दिनुभयो । कोरोनाका कारण यतिबेला मुलुककै अर्थतन्त्र थला परेको छ । यस्तो बेला हरेक नागरिकले आफ्नै घरमा सानोतिनो नै पेशा व्यवसायमार्फत उत्पादन कर्ममा ध्यान केन्द्रित गरेमा त्यसले राज्यलाई नै फाइदा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *