Wednesday, October 21, 2020
Home > आर्थिक समाचार > दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज
दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा उपभोक्ताहरुको भीडभाड रहने गरेको छ । अघिल्ला बर्षहरुमा चाडवाडको समयमा विराटनगरसहित आसपासका ग्राहकहरु भारतीय बजार जोगबनी गएको व्यापारीहरुले गुनासो गर्ने गरे पनि यसपटकको अवस्था फरक छ । कोरोना महामारीका कारण गएको वर्ष चैत महिनादेखि नै नेपाल–भारत अन्तर्राष्ट्रिय सिमा बन्द गरिएका कारण उपभोक्ताहरु स्थानीय बजारहरुमै केन्द्रित हुनुपरेको छ । बिगतका वर्षहरुभन्दा यसपटकको विराटनगर बजारको अवस्था राम्रो रहेको स्वयं ब्यापारीहरु नै बताउँछन् । विगतभन्दा यसपटक बढी उपभोक्ताहरु सामान किनमेल गर्न आइरहेको विराटनगरका ब्यापारी सनाउल्लाले बताउनुभयो । विगतका वर्षहरुमा चाडपर्व नजिकिने बित्तिकै अधिकांश उपभोक्ताहरु जोगबनीतर्फ जाने प्रवृत्तिका कारण विराटनगरका ब्यापारीहरु रुष्ट रहने गरेका थिए । यद्यपि पछिल्लो ६ महिना बढी समयदेखि सीमा बन्द भएपछि उपभोत्ता स्थानीय बजारहरुमै केन्द्रित हुनुपरेको छ । इनरुवा सुनसरीका उपभोक्ता आयुष मेहताले विराटनगर बजारमै सस्तो र गुणस्तरीय सामानहरु पाइने गरेकाले पारी जानुपर्ने उचित नरहेको बताउनुभयो । बोर्डर बन्द भएको अवस्थामा समेत व्यापारीले उचित दाममै मालसामान बिक्री गरिरहेको आफूले पाएको उहाँको भनाइ छ । विगतमा सस्तोमा सामान पाउने लोभमा जोगबनी पुग्ने कतिपय उपभोक्ताहरु तौल र गुणस्तरमा समेत ठगिने गरे पनि त्यता जाने रुझानमा भने कमी आएको थिएन । यसअघिका वर्षहरुमा चाडवाड आउने बित्तिकै सिमावर्ती भारतीय बजार जोगबनी गुल्जार हुने गरेको थियो । नेपाली उपभोक्ताकै भरमा चल्ने जोगबनी बजारमा चाडवाडको समयमा खुट्टा टेक्ने ठाँउसम्मको अभाव हुने गरेको थियो भने विराटनगरका व्यापारीहरु उपभोक्ताहरु रुंग्दै बस्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक अवस्था फेरिएका कारण आउँदो चाडवाडमा राम्रो बिक्री हुने ब्यापारीहरुले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *