Wednesday, October 28, 2020
Home > मुख्य समाचार > दशैं संघारमै आइसकेपनि यात्रु नपाउदा बस ब्यवसायीहरु चिन्तित

दशैं संघारमै आइसकेपनि यात्रु नपाउदा बस ब्यवसायीहरु चिन्तित

विराटनगर १ कार्तिक

दशैं संघारमै आइसकेपनि यात्रु नपाउदा बस ब्यवसायीहरु चिन्तित भएका छन । आधा सिट बराबरपनि यात्रु नपाउँदा संचालन खर्च समेत उठाउन नसकेको ब्यवसायीले गुनासो गरेका छन । दशैं नजिकिंदै गर्दा उत्साहित हुनुपर्ने बस ब्यवसायी यतिखेर चिन्तित बनेका छन । आधा सिट बराबरपनि यात्रु नपाएका कारण उनिहरु चिन्तित बनेका हुन। दशैं संघारमै आईसकेको बेला यात्रुहरुको चाप हुनुपर्ने हो तर लामो समयको बन्दाबन्दी पछि सडकमा निस्किएका यात्रु बाहक बसले निर्धारित सिट बराबरपनि यात्रु पाउन सकेका छैनन । प्रदेश एकको राजधानी विराटनगर बस टर्मिनलबाट सामान्य अवस्थामा ३ सय ५० बढी यात्रुवाहक बसहरु ओहोरदोहोर गर्दै आएपनि पछिल्लो समय पौने २ सय जति बसहरु मात्र गुडिरहेका छन । ती बसहरुले समेत पर्याप्त यात्रु नपाइरहेको अवस्था छ । कतिपय बसहरु ५ सात जना यात्रु मात्र बोकेर गुड्नुुपर्ने अवस्था रहेको यातायात ब्यवसायी भीम अधिकारीले बताउनुभयो । निरन्तर यात्रु नपाउदा बसहरु ग्यारेजमै थन्किन थालेको उहाँको भनाई छ । कोरोना संक्रमणको संत्रासका कारण सर्वसाधारण यात्रा गर्न हच्किरहेकाले यात्रुको अभाव भएको अधिकारीले बताउनुभयो । प्रदेश एकको राजधानी विराटनगरस्थित बस टर्मिनलबाट निस्किने अधिकांश बसहरु टर्मिनलबाट खाली नै निस्किने तथा बाटामा भेटिने न्युन यात्रुका भरमा गुडिरहेका छन । बिगतका बर्षहरुमा दशैंमा यात्रुको चाप अत्यधिक रहँदै आएकोमा यसपटक खर्च धान्न समेत समस्या भइरहेको फत्तेपुर–विराटनगर बस कुदाउदै आउनुभएका गणेश बरालले बताउनुभयो । ग्यारेजमा थन्क्याउदा गाडी बिग्रिने भएकाले बाध्य भएर थोरै यात्रु बोकेर भएपनि कुदाउनु परेको उहाँको भनाई छ । आवश्यकता अनुसारको यात्रु पाउन नसक्दा बस ब्यवसायी मात्र नभई मजदुहरु समेत समस्यामा परेका छन । बस नचल्दा रोजगारी गुम्नुका साथै यातायात मजदुरले रित अनुसार पाउने कमिशन समेत गुमाउनु परिरहेको छ । प्रतिकुल अवस्थाका कारण कतिपय मजदुरहरु भोकभोकै बस्ने अवस्था रहेको मजदुर नेता राजजकुमार ढुंगेलले बताउनुभयो । कोरोना महामारीको दिनदिनै बढदै गएको संक्रमणले सबै क्षेत्र प्रभावित भइरहेको अवस्थामा यातायात समेत प्रभावित छ । यस्तो परिवेशमा अवस्था सामान्य हुने कामना मात्र गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *