Wednesday, October 28, 2020
Home > राष्ट्रिय समाचार > बारा जिल्ला पछिल्लो समय लागूऔषध कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

बारा जिल्ला पछिल्लो समय लागूऔषध कारोबारीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

बारा १ कार्तिक
बारा जिल्लामा लागूऔषधको कारोबार बढ्दै गइरहेको छ । पूर्व–पश्चिम लोकमार्गको ५६ किलोमिटर र त्रिभुवनराजपदको ३२ किलोमिटर खण्ड ओगटेको बारामा राजमार्ग हुँदै लागूऔषध ओसारपोसार बर्षेनी बढेको हो ।
पछिल्लो समय लागूऔषध कारोबारी पक्राउ परेको तथ्यांकले पनि जिल्ला लागूऔषधको ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा प्रयोग हुँदै गएको देखिएको छ । तीन वर्षको अवधिमा जिल्लामा लागूऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३४, २०७५÷७६ मा ३७ र २०७६÷७७ मा ५२ जना लागूऔषधसहित पक्राउ परेका थिए । जिल्लामा दर्ता हुने कुल मुद्दामध्ये लागूऔषधको मुद्दा पाँचौं स्थानमा छ भने प्रहरीले लागूऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागूऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ । बाराका सिमावर्ती क्षेत्र बिहारका बजारबाट लुकाइछिपाई लागूऔषध भित्र्याउने र यहाँबाट राजधानीलगायत मुलुकका विभिन्न ठाउँमा आपूर्ति हुँदै आएको छ भने बाराबाट ठूलो परिणाममा गाँजा भारत लगिने गरेको पाइएको छ । नेपालमा प्रतिबन्धित लागूऔषधहरू भारतका सीमावर्ती बजारहरूमा खुल्लम खुल्ला खरिद बिक्री हुनु र खुल्ला सिमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न प्रहरीलाई समेत टाउको दुखाई बनेको छ । जसका कारण बाराका बजार लागूऔषध सेवनकर्ता र कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । भारतीय सीमावर्तीका विभिन्न बजार क्षेत्रका केही किराना, औषधि पसल तथा झुपडीहरूमा अरू औषधी सरह सहज रूपमा नै प्रतिबन्धित लागू औषध पाइने गरेको यसको अध्ययनमा संलग्न विज्ञहरूको भनाइ छ । यसबाट सेवनकर्ताको संख्यामा वृद्धि भई स्थानीयस्तरमा आपराधिक मनोवृत्ति हाबी हुँदै गएको उनीहरूको भनाइ छ । लागूऔषधको दुव्यर्सनीमा फसेका युवाहरु साथीसंगतको करकापमा सबैभन्दा बढी दुव्यर्सनमा फसेका कारण आफ्नों घर तथा समाजमा विभिन्न घटना निम्ताउने गरेका पूर्व प्रधानाध्यापक तथा विश्लेषक सुदर्शनप्रसाद कोइरालाले बताउनुभयो । दुव्यर्सनमा फसेकाहरुलाई सहि मार्ग देखाउन परामर्शका साथै सुधार गृहको प्रभावकारिता र समाजसँगको समन्वय अत्यन्त जरुरी भएको उहाँको भनाइ छ । बारामा बन्दाबन्दीको समयमा मात्रै करिब ४ सय ७४ केजि गाँजा प्रक्राउ परेको छ । यता जिल्ला प्रहरी कार्यालयले लागूऔषध कारोबारमा संलग्नको खोजी तीव्र पारिएको बताएको छ । लागूऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । रात्रिकालीन बसबाट बढी मात्रामा लागूऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचलाई तीव्र पारिएको उहाँको भनाइ छ । बारामा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा प्रयोग हुने गरेको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *