Wednesday, January 27, 2021
Home > राष्ट्रिय समाचार > नेपाल केवल टेलिभिजन महासंघले यही कात्तिक ७ गतेबाटै विज्ञापनरहित क्लिन फिड लागू गर्न माग

नेपाल केवल टेलिभिजन महासंघले यही कात्तिक ७ गतेबाटै विज्ञापनरहित क्लिन फिड लागू गर्न माग

काठमाण्डौ ४ असोज
नेपाल केवल टेलिभिजन महासंघले यही कात्तिक ७ गतेबाटै विज्ञापनरहित क्लिन फिड लागू गर्न माग गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई ज्ञापनपत्र बुझाउँदै महासंघले क्लिन फिड लागू गर्नु पूर्व सरकारले पूरा गर्नुपर्ने विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको हो । हिजो मन्त्रालयमै पुगेर महासंघका अध्यक्ष धु्रव शर्मा, सल्लाहकार दिनेश सुवेदी, महासचिव मनोज गुरुङलगायतले मन्त्री गुरुङलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । महासंघले आइपी टिभीले हाल प्रयोग गरी आएको एनड्रोइट आइपी टिभी बक्सबाट अनुमति नलिइएका च्यानल तथा सामग्रीहरु प्रशारण हुने भएकाले सो कार्य तत्काल बन्द गराउन माग गरेको छ । यस्तै केवलको माध्यमबाट टेलिभिजनको पुनः प्रशारण गर्ने प्रशारक संस्था एमएसओ डिटिएचले प्रयोग गर्ने सेटअप बक्सका माध्यमबाट एकले एनड्रोइट आइपी टिभी बक्स प्रयोग गरी एप्लिकेसनको माध्यमबाट अनुमति लिइएका र नलिएका च्यानल तथा भिडियो पुनः प्रशारण गर्न पाउने अर्कोले गर्न नपाउनेलगायतका असमान व्यवधानहरु हटाउनुपर्ने महासंघको माग छ । साथै सेटेलाइट तथा केवलबाहेक अन्य सञ्चार माध्यमअन्तर्गत समावेश आइपी टिभीले आफैं कार्यक्रम पुनः प्रशारण नगरी अन्य सिङ्नल वितरण गर्नु कानुन विपरीत हुने महासंघले ठहर गरेको छ । कानुन विपरीत वर्डलिङ्क, भाइनेट, होन्सनेट, प्रभु टिभी, क्लासिटेकलगायतका सयौं आइएसपीलाई टेलिभिजन प्रशारण गर्ने सिङ्नल वितरण गरिएकाले तत्काल बन्द गर्नुपर्ने महासंघको माग छ । नेपालमा गैरकानुनी रुपमा सञ्चालित भारतीय डिटिएचलाई नियन्त्रणमा लिई कडाभन्दा कडा कारबाही गर्नसमेत महासंघले माग गरेको छ । क्लिन फिड लागू हुनुअघि डिजिटल केवल टिभीले प्रशारण गर्ने प्याकेजसम्बन्धी प्रावधान अनिवार्य कार्यान्वयन गराई सो प्याकेजको न्यूनतम मूल्य कायम गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ । त्यस्तै उपभोक्ताले शुल्क तिरेर हेर्न चाहेको च्यानल मात्रै हेर्न पाउने सम्बन्धी व्यवस्थाले उपभोक्तामा समेत आर्थिक भार कम हुन जाने हुँदा एल कार्टे सम्बन्धी प्रशारण गर्ने सम्बन्धी कानुनी व्यवस्था गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले क्लिन फिड लागू गरेरै छाड्ने बताउनुभयो । उहाँले महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *