Friday, November 27, 2020
Home > राष्ट्रिय समाचार > चीनले अघि सारेको बिआरआई परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण हुने (नेकपा)का कार्यकारी अध्यक्ष दाहालको भनाई

चीनले अघि सारेको बिआरआई परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण हुने (नेकपा)का कार्यकारी अध्यक्ष दाहालको भनाई

काठमाण्डौ ५ कात्तिक
पूर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ ।
हिजो चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, स्थायित्व र विकासका लागि बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना महत्वपूर्ण हुने बताउनुभएको हो । बिआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भएकाले यसलाई आफुले महत्वपूर्ण अवसरको रुपमा लिएको समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । यस्तै गत वर्ष चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणमा भएका सम्झौताले पनि दुई देशको भावनालाई समेटेको उहाँले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बिआरआईले यस क्षेत्रको नविनता, उत्पादकत्व र प्रगतिका लागि महत्वपूर्ण हुने बताउनुभयो । बीआरआई परियोजनाले दुई देशबीच वित्तीय एकीकरण र नीति समन्वयका लागि काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो । यसले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्ण हुने पनि उहाँले बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखि नेपाली’ अभियानलाई सार्थक बनाउन समेत बिआरआई परियोजना महत्वपूर्ण हुने उहाँले बताउनुभयो । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्त कमिटीका सेक्रेटरी वु यिंगजी लगायतले सम्बोधन गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सिचिनफिङको नेपाल भ्रमणको वार्षिकोत्सवको अवसर पारेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले ‘चीन–नेपाल बेल्ट एन्ड रोड को–अपरेसनमा राजनीतिक दलहरुको प्रथम संयुक्त परामर्श सम्मेलन’ आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *