Sunday, January 17, 2021
Home > मुख्य समाचार > मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले बालबालिकामा दृष्टि कमजोर हुने समस्या

मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले बालबालिकामा दृष्टि कमजोर हुने समस्या

विराटनगर १५ असोज
मोबाइल र कम्प्युटरसहितका विद्युतीय उपकरणको अत्यधिक प्रयोगले पछिल्लो समय बालबालिकामा दृष्टि कमजोर हुने समस्या देखिएको छ । बिद्युतीय उपकरणको बढ्दो प्रयोगका कारण बालबालिकामा दृष्टि दोषको समस्या बढ्दै गएको हो । बालबालिकाले सानै उमेरमा चश्मा लगाउनुपर्ने अवस्था बढ्दै गएको पाइएको छ । मोबाईल, कम्प्युटर र ल्यापटपलगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोगका कारण बालबालिकामा दृष्टि कमजोर हुने समस्या देखिएको हो । शारिरीक सक्रियता हुने खेलकुदको साटो बालबालिकाहरु विद्युतीय उपकरणमा एकहोरिने वातावरण बन्दै गएकाले आँखाको समस्या बढ्दै गएको हो । ५ बर्षे छोरीको आँखाको समस्या लिएर विराटनगर आँखा अस्पताल आइपुग्नु भएका इटहरी, सुनसरीका प्रमोद साहले पढ्ने समयमा छोरीलाई टाउको दुख्ने समस्या देखिएको बताउनुभयो । लकडाउनयता मोबाइल र ल्यापटपको अत्यधिक प्रयोगका कारण समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ ।  दृष्टिदोषको समस्या बढ्दै जाँदा आँखा सुक्खा हुने, नजिकको चिजवस्तु वा अक्षर हेर्न कठिनाई हुने र टाउको दुख्ने लगायतका समस्या देखिने गरेको विराटनगर आँखा अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रक्षा पन्तले बताउनुभयो । लकडाउनयता विद्युतीय उपकरणको अत्यधिक प्रयोगका कारण आँखा सुक्खा हुने समस्या लिएर उल्लेख्य संख्याका विरामीहरु अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो । लगातार स्क्रिनमा हेर्ने गलत बानीका कारण आँखा सुक्खा हुने तथा दृष्टि कमजोर हुने समस्या बढ्दै गएको बताउनुहुँदै उहाँले बेलाबेलामा आँखालाई आराम दिने वा आफू अगाडि हेर्ने तथा आँखा चिम्लिने गरे केही हदसम्म समस्याबाट जोगिन सकिने डाक्टर पन्तको सल्लाह छ । प्रदेश एकको राजधानी विराटनगरस्थित विराटनगर आँखा अस्पतालले बितेको बर्ष मोरङ, सुनसरीका ४ सय ४३ विद्यालयहरुमा आयोजना गरेको आँखा जाँच शिवीरमा १५ हजार ७ सय १४ जना विद्यार्थीहरुमा चश्मा लगाउनुपर्ने अवस्थाको दृष्टिदोष फेला परेको थियो । ती विद्यालयहरुमा १ लाख ३० हजार ४ सय ७ जना बालबालिकाको आँखा परीक्षण गर्दा ४८ बालबालिकामा शल्यक्रिया गर्नुपर्ने मोतियाबिन्दुसमेत देखिएको अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी दिनुभयो । चालु बर्षको तथ्यांक आउन बाँकी रहे पनि लकडाउनयता आँखाको समस्या लिएर आउने बालबालिकाको संख्यामा बढोत्तरी भएको उहाँले बताउनुभयो । पछिल्लो समयको कोराना संक्रमण महामारीका कारण बालबालिकालाई खुल्ला ठाँउमा गएर खेल्न दिने अवस्था नरहेका कारण आफ्ना नानीहरुलाई विद्युतीय उपकरणको प्रयोगमा छुट दिनुपर्ने अभिभावको बाध्यता छ । यद्यपि घरआँगनमै उनिहरुले खेल्नसक्ने धेरै पारम्परिक खेलहरु भएका कारण त्यसतर्फ बालबालिकालाई प्रेरित गरिनुपर्छ यसरी उनिहरुको स्क्रिन टाइमलाई घटाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *