Thursday, November 26, 2020
Home > मुख्य समाचार > पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु

बिराटनगर २५ कात्तिक

प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेर्हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २–२, ग्रामथान र बुढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये विराटनगरको विभिन्न अस्पतालमा उपचारका क्रममा ९ र २ जनाको घरमै मृत्यु भएको हो । कोरोनाले ज्यान लिने क्रम सुरु भएयता पहिलो पटक मोरङभित्र एकै पटक यतिधेरै संक्रमितको ज्यान गएको हो । मृतकहरुमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मृगौला र मुटु सम्बन्धी पुरानै समस्या रहेको अस्पतालहरुले जनाएका छन् । पछिल्लो १२ घण्टाभित्र नोबेल शिक्षण अस्पतालमा ५, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३, न्यूरो अस्पतालमा १ र होम आइसोलेसनमा २ जनाको मृत्यु भएको छ । मृतक प्रदेश १ का विभिन्न जिल्लाका रहेका छन । प्रदेश १ मा कोरोना संक्रमणबाट अहिलेसम्म ७९ महिला र १ सय ७७ पुरुष गरी २ सय ५६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२४ महिला र १९१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *