Thursday, November 26, 2020
Home > Uncategorized > लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित गुफापोखरी संरक्षणको अभावमा ओझेलमा

लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित गुफापोखरी संरक्षणको अभावमा ओझेलमा

संखुवासभा ३० कात्तिक

संखुवासभाको चैनपुर नगरपालिका– १ मा पर्ने गुफापोखरी पोखरीमात्र नभएर एउटा सिंगो बस्तीको रुपमा रहेको छ । शेर्पाहरूको बाहुल्यता रहेको यस वस्तीमा करिब ५० घर रहेका छन् । शेर्पाली मौलिक संस्कृति, रहनसहन, भेषभूषा यहाँको प्रमुख आकर्षक हुन् । गुफापोखरीमा कञ्चनजंघा, मकालु, कुम्भकर्णका दृश्य देख्न सकिन्छ । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य पनि मनोरम देखिन्छ । यही दृश्यले आगन्तुकको मन लोभ्याउने गरेको छ । गुफापोखरी पुग्न जोखिम मोलेर यात्रा गर्नुपर्छ । संखुवासभा सदरमुकाम खाँदबारीबाट चिचिला, बाह्रबिसे हँुदै पोखरी पुग्न पाँचदिनको पैदल यात्रा गर्नुपर्छ । त्यस्तै तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको दक्षिणी बाटो भएर चीनजुरे मिल्के, लामापोखरी हुँदै पनि गुफापोखरी पुग्न सकिन्छ । यहाँ पूर्णरुपमा यातायातका साधन पुग्न सकेको छैनन् । त्यसैले यो पोखरीको यात्रा निकै चुनौतीपूर्ण रहेको छ । यो रुट व्यवस्थित र प्रचलित यात्रा गन्तव्यमा नपर्दा केही समस्या परेको सो क्षेत्रमा घुम्न आएका रणधिर चौधरी बताउनुहुन्छ । पर्यटकीय सम्भावना उच्च हुँदाहुँदै पनि गुफापोखरी ओझेल परेको ५० वर्षदेखि सो क्षेत्रमा बसोबास गर्दै आउनु भएककी चित्रकला खनालको भनाइ छ । सो क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन सके, स्थानीयवासीले असंख्य फाइदा लिन सक्ने उहाँको बुझाइ छ ।  भदौदेखि कात्तिक र फागुनदेखि वैशाख यहाँ पुग्नका लागि उपयुक्त महिना हुन् । अरू महिना हिउँ–तुषारो र वर्षाका कारण जीवन कष्टकर हुने गर्छ । बाटामा त्यति होटलहरू देखिदैनन । गुफापोखरी बजार पुगेपछि फाट्टफुट्ट होटल तथा लज भेटिन्छन् । यात्रीलाई विभिन्न मौलिक परिकारले स्वागत गरिन्छ । लेकाली छुर्पी, याकको मासु, कोदोको तोङ्वा यहाँका विशेष स्वादिला परिकार हुन् । २ हजार ८९० मिटरको उचाईमा रहेको गुफापोखरीको प्राकृतिक महत्व त छ नै, धार्मिक, सांस्कृतिक महत्व पनि उत्तिकै छ । सबै धर्मावलम्बीका लागि उत्तिकै पवित्र मानिने यो पोखरी प्रकृतिको काखमा रहेको तीर्थस्थल पनि हो । कतिपय धार्मिक आस्था राख्नेहरू गंगाभन्दा गुफापोखरीलाई चोखो मान्छन् । त्यसैले पनि धेरै मानिस यस पोखरीको दर्शनार्थी बनेर यहाँ आइपुग्ग्ने आन्तरिक पर्यटक विकास न्यौपाने बताउनुहुन्छ । तेह्रथुम र संखुवासभाको संगमस्थलमा अवस्थित चर्चित पर्यटकीय क्षेत्रमा रहेको गुफापोखरीमा अहिले पानी सुक्न थालेको छ । गुफापोखरीलाई ‘सबैको, सधैंको गन्तव्य बनाउने हो भने राज्यस्तरदेखि स्थानीय सबै जुर्मुराउनु जरुरी रहेको स्थानीय निमा खनालको भनाइ छ । यसमा सबैको ध्यान खिच्न स्थानीय तहले नै पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । यसको पूर्वधार विकास र आवश्यक व्यवस्थापनमा उचित ध्यान पुगेमा गुफापोखरी आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न सक्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *