October 20, 2017, Friday       कार्तिक ३, २०७४, शुक्रबार

विराटनगर, चैत १७ : मोरङको सुन्दरदुलारी नगरपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । मंगलबार स्थानीय साजीलाल उच्च माविमा आयोजित विशेष समारोहमा सुन्दरदुलारीलाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएका हो । घोषणासभामा क्षेत्रीय स्वास्थ्य निर्देशानलयका निर्देशक झलक शर्माले सुन्दरदुलारी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरे । घोषणासभालाई सम्बोधन गर्दै निर्देशक शर्माले जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीले सर्भे गर्दा १२ देखि २३ महिनाका एउटै पनि बालबालिकाहरू खोप लगाउन नछुटेकाले सुन्दरदुलारीलाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको बताए । उनले पूर्ण खोप नलगाएका बालबालिहरू छात्रवृत्तिमा विदेश अध्ययन गर्न जानबाट समेत वञ्चित हुने भएकाले बालबालिबाहरूलाई अनिवार्य रुपमा पूर्ण खोप दिनुपर्नेमा जोड दिए । मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणालाई स्थायित्व दिनुपर्नेमा जोड दिए । उनले आगामी दिनमा बालबालिकालाई खोपको मात्रा नछुटाउन सबैले गम्भीर भएर लाग्नुपर्ने बताए । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङ्देनले कार्यक्रमलाई स्थायित्व दिन सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए ।नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य चौकीको संयुक्त पहलमा सुन्दरदुलारीलाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरले घोषणा कार्यक्रमलाई सबै पक्ष्ँको सहकार्यमा पूर्ण रुपमा कार्यान्वयन गरिने बताए ।