Sunday, May 09, 2021
Home > मुख्य समाचार > चाडपर्वमा कोरोना भाइरसको संक्रमण उच्च हुने आँकलन

चाडपर्वमा कोरोना भाइरसको संक्रमण उच्च हुने आँकलन

विराटनगर २७ असोज

नेपालीहरुको महान पर्व दसैं, तिहार, छठलगायतका पर्वहरुमा प्रदेश–१ मा कोरोना भाइरसको प्रकोप उच्च हुने अनुमान गरिएको छ । पछिल्लो सयम हटस्पटका रुपमा देखिएको काठमाडौंसँगको सम्बन्धका कारण प्रदेशमा संक्रमण उच्च हुने आँकलन गरिएको हो । नजिकिँदो चाडपर्वका कारण संक्रमणको जोखिम बढ्ने भएपछि प्रदेश राजनीतिक नेतृत्वका लागि टाउको दुखाइको विषय भएको छ । नजिकिँदो दशैंतिहार र छठलगायतका विभिन्न चाडपर्वमा मानवीय गतिविधि, जमघट र भेला तीव्र हुने भएपछि संक्रमणको जोखिम बढेको हो । यसअघि भारतसँगको खुल्ला सिमानाका कारण प्रदेश एकको सिमावर्ती पालिकाहरुमा संक्रमणको जोखिम रहेकामा पछिल्लो समय काठमाडौंसँगको सम्बन्धका कारण जोखिम उच्च भएको हो । चाडपर्वमा रोजगारी तथा विभिन्न कामका सिलसिलामा काठमाडौं बस्दै आएका सर्वसाधारण आ–आफ्ना घर आउने भएकाले संक्रमणको जोखिम उच्च हुने अवस्था छ । जोखिम बढ्ने देखिएका कारण त्यसप्रकारको चुनौतीको सामना गर्न मन्त्रालयस्तरमा छलफल गर्ने तथा योजना बनाउने काम भइरहेको प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । यसपटक कात्तिक १ देखि दशैं सुरु हुँदैछ । दशैसँगै सुरु हुने चाडपर्वको सिलसिला छैठपछि मात्र समाप्त हुन्छ । यो अवधिमा काठमाडौंबाट अत्यधिक मानिसहरु घर फर्किने भएका कारण यातायात साधनहरुमा समेत भीडभाड रहन्छ । अवस्था विगतको जस्तो नरहेकाले भीडभाडका कारण संक्रमणको जोखिम उच्च छ । त्यसरी घर फर्किने मानिसहरुले आफूसँगै भाइरसको संक्रमण घरसम्मै लैजानसक्ने अवस्था छ । त्यसैले यसपटक विगतको भन्दा फरक ढंगले चाडपर्व मनाउनुपर्ने अवस्था रहेको प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले बताउनुभएको छ । संक्रमणको जोखिमका कारण सामान्य अवस्थामा हुँदै आएका क्रियाकलापहरुलाई रोक्नुपर्ने तथा जहाँ छौं त्यहींबाट चाडपर्व मान्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।  मुख्यमन्त्री स्वयंले सामान्य अवस्थाका गतिविधिहरु रोक्नुपर्ने अवस्था रहेको बताइसक्नु भएका कारण फेरि पनि लकडाउन हुनसक्ने सम्भावना देखिएको छ । मुख्यमन्त्रीको यस्तो अभिव्यक्ति आइरहँदा पनि अवस्था हेरेर मात्र सरकारले लकडाउन गर्ने कि नगर्नेे निष्कर्षमा पुग्ने निश्चित छ । सरकारको निर्णय जेजस्तो आए पनि संक्रमणबाट आफू पनि जोगिनु र अरुलाई पनि जोगाउनु सबैको दायित्व हो । तसर्थ यसपटकको चाडपर्व मनाउँदा निकै नै सावधानी अपनाउनुपर्ने देखिन्छ । विगतको जस्तो स्वच्छन्दता सबैका लागि घातक हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *