काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा निरीक्षण भ्रमण गर्दै आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सेनाको सुरक्षा तयारीबारे विस्तृत जानकारी लिएकी छन्। भेटका क्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र निर्वाचनमा सेनाको भूमिका तथा परिचालन योजना सम्बन्धी प्रस्तुतीकरण प्रधानमन्त्रीसमक्ष पेस गरेको थियो।
प्रधानमन्त्री कार्कीले हालैको जेन-जी आन्दोलनका क्रममा लुटिएका हातहतियारको खोजी तथा फरार अभियुक्त पक्राउ गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सेनालाई आग्रह गर्दै आगामी निर्वाचन पूर्ण शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बलियो प्रतिबद्धता व्यक्त गरिन्।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा “एक थोपा पनि रगत बग्न नदिने” लक्ष्यसहित शान्ति–सुरक्षा मजबुत बनाउने दायित्व अहिलेको सरकारको शीर्ष प्राथमिकता भएको स्पष्ट पारिन्। साथै, चुनाव सुरक्षाको जिम्मेवारी सेनाले पेशागत कुशलतासहित पूरा गर्ने विश्वास आफूलाई रहेको पनि प्रधानमन्त्रीले उल्लेख गरिन्।

