Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > खाडी द्वन्द्वले नेपाली अर्थतन्त्र र श्रमिकहरूमा बहुआयामिक चुनौती

खाडी द्वन्द्वले नेपाली अर्थतन्त्र र श्रमिकहरूमा बहुआयामिक चुनौती

काठमाडौं — खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले नेपालमा इन्धन आपूर्ति, मूल्यवृद्धि र आर्थिक संकुचनको जोखिम बढाएको अर्थशास्त्रीहरूले बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजले गरेको छलफलमा विशेषज्ञहरूले वैश्विक इन्धन मूल्य र व्यापार अस्थिरतासँगै खाडीमा कार्यरत लाखौँ नेपाली श्रमिकको रोजगारी र सुरक्षा पनि प्रभावित हुने चेतावनी दिएका छन्।

अर्थशास्त्री गुणाकर भट्टका अनुसार, “तेल–ग्यास आपूर्ति प्रभावित हुँदा ढुवानी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको मूल्य बढ्छ, जसले आर्थिक गतिविधिमा संकुचन ल्याउँछ।”

श्रम विज्ञ रामेश्वर नेपालले भने, “हाल खाडी क्षेत्रमा करिब २५ लाख नेपाली काम गर्दैछन्। द्वन्द्व लामो समयसम्म रह्यो भने रोजगारी र रेमिटेन्स दुवै प्रभावित हुन सक्छ।”

विज्ञहरूले सरकारलाई इन्धन मौज्दात बढाउने, वितरण व्यवस्थित गर्ने र आप्रवासी श्रमिकको सुरक्षामा ध्यान दिन सुझाएका छन्। तैपनि द्वन्द्व चाँडै समाधान भए पुनर्निर्माण र नयाँ रोजगारीका अवसर पनि खुल्ने सम्भावना रहेको उनीहरूको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *