काठमाडौं, २९ फागुन :
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवार र राजनीतिक दललाई चुनावी प्रचारप्रसारमा भएको खर्चको विवरण समयमै सार्वजनिक गर्न निर्देशन दिएको छ।
आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेदवारले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ भने समानुपातिकतर्फका राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ।
निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आम्दानी र खर्चको विवरण तोकिएको ढाँचामा सार्वजनिक गरी प्रमाणसहित आयोग वा सम्बन्धित कार्यालयमा जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समयसीमाभित्र खर्च विवरण नबुझाए वा सार्वजनिक नगरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।


