भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनमा भएको आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणले पुष्टि गरेको छ।
नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) द्वारा संकलन गरिएका १६ वटा नमुना भारतस्थित सेन्ट्रल फरेन्सिक साइन्स ल्याबमा परीक्षण गर्दा पेट्रोलियम अवशेष भेटिएको हो। परीक्षणमा हाइड्रोकार्बन फेला परेको र एउटा झोल नमुनामा पेट्रोल रहेको रिपोर्टमा उल्लेख छ।
फरेन्सिक विज्ञहरूका अनुसार हाइड्रोकार्बन फेला परेमा त्यहाँ पेट्रोलियम पदार्थ प्रयोग भएको मानिन्छ। आगजनीबाट जलेका माटो, खरानी, तार र काठका नमुना सुरक्षित प्याक गरी परीक्षणका लागि पठाइएको थियो।


