काठमाडौं, २९ फागुन :
काठमाडौं उपत्यकाको फोहर विसर्जनमा नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका स्थानीयले पुनः अवरोध गरेका छन्।
विगतमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहर बोकेर पुगेका गाडीलाई फर्काएका हुन्। अवरोधपछि काठमाडौं महानगरपालिकाले पनि फोहर बोकेका सवारीलाई फिर्ता पठाएको जनाएको छ।
नुवाकोट र धादिङका प्रभावित बासिन्दा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडी रोकेका छन्। स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले समेत स्थानीयको मागलाई समर्थन गरेका छन्।
स्थानीयले विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडान लिएका छन्।


