काठमाडौँ — काठमाडौं महानगरपालिका र वीर अस्पताल बीच महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि सम्झौता भएको छ। चैत १६ देखि सुरु हुने कार्यक्रममा ३०–६० वर्ष उमेर समूहका महिला, अघिल्लो वर्ष छुटेका र पोजेटिभ देखिएका महिलालाई प्राथमिकता दिइनेछ। दैनिक करिब १००–१२० जनाको परीक्षण गरिने योजना छ। महानगरले सेवा सहज र सबै महिलाको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ। परीक्षणका लागि पहिले नजिकको स्वास्थ्य केन्द्रबाट रेफरल स्लिप लिनुपर्नेछ। स्तन क्यान्सरका लागि क्लिनिकल जाँच, आवश्यक परे अल्ट्रासाउन्ड र मेमोग्राफी गरिनेछ भने पाठेघरको मुखको क्यान्सरका लागि HPV DNA परीक्षण गरिनेछ। पोजेटिभ देखिए थप परीक्षण र उपचार गरिनेछ।


