Friday, March 13, 2026
Home > विराटनगर समाचार > विराटनगरमा खाना पकाउने ग्यास अभाव, उपभोक्ताको समस्या बढ्यो

विराटनगरमा खाना पकाउने ग्यास अभाव, उपभोक्ताको समस्या बढ्यो

विराटनगर — पछिल्लो एक हप्तादेखि विराटनगरमा खाना पकाउने ग्यासको अभाव बढेपछि स्थानीय उपभोक्ता र होटल व्यवसायी समस्यामा परेका छन्। होटल सञ्चालक र घरधनी दुवैले सिलिन्डर नपाउँदा खाना पकाउन कठिन भएको गुनासो गरेका छन्।

नेपाल ग्यास विक्रेता संघ मोरङका अध्यक्ष सुनिल बोहराका अनुसार, पूर्वका कम्पनीहरूले दैनिक ५०० सिलिन्डर उपलब्ध गराउँथे भने हाल १५०–२०० मात्रै पाइरहेको छ। मध्यपूर्वी देशहरूमा युद्धका कारण मानिसहरूले घरमै ग्यास स्टक राख्न थालेको र एक घरमा ४–६ सिलिन्डर राखिने प्रवृत्तिले अभाव बढाएको छ।

विराटनगर-१० का विक्रेता भोजराज दाहालले भने, माग अचानक बढ्दा आपूर्ति मिलाउन कठिन भएको छ। मोरङ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सम्बन्धित निकायहरूसँग समन्वय गरी आपूर्ति सहज बनाउन काम भइरहेको जानकारी दिए।

विराटनगरमा करिब १५० ग्यास डिलर छन् र मासिक ३० हजार सिलिन्डर माग रहेको छ। हाल प्रतिसिलिन्डर मूल्य १,९१० रुपैयाँ तोकिएको छ, डेलिभरी शुल्क अलग।

Leave a Reply

Your email address will not be published. Required fields are marked *