विराटनगर । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कोरपिओ गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन्।
बुधबार अपरान्ह करिब ४ः४५ बजे इनरुवाबाट भण्टाबारीतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको स्कोरपिओले विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय सञ्जय साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याइए पनि साँझ ५ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकलको पछाडि सवार राजविराज घर भएकी २५ वर्षीया पुष्पा साह गम्भीर घाइते भएकी छन् र उनको उपचार भइरहेको छ। प्रहरीले स्कोरपिओ र चालक सप्तरीको बोदेबरसाइन नगरपालिका–६ का २५ वर्षीय रञ्जितकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।


