धनकुटा — सोमबार राति आएको हावाहुरीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुर्याएको छ। हावाहुरीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा क्षति पुग्दा ओपिडी सेवा वैकल्पिक रूपमा सञ्चालन भइरहेको छ भने थेरापी सेवा अस्थायी रूपमा बन्द गरिएको केन्द्र प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सदरमुकाम क्षेत्रमा मात्रै करिब दुई दर्जन सरकारी भवनमा क्षति पुगेको छ। स्थानीय बस्तीका घर, क्याम्पस, संग्रहालय, वन कार्यालयलगायत संरचनामा पनि असर परेको जनाइएको छ।


