काठमाडौँ, १ चैत २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी अभियोगपत्र फिर्ताको रिट सुनुवाइ सर्वोच्च अदालतले आइतबार ‘हेर्दाहेर्दै’मा राखेको छ।
सुनुवाइ भोलिका लागि पेसी तोकिएको छ। अदालतको संयुक्त इजलास न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलले सुनुवाइ पूरा गर्न नसक्दा रिट यो अवस्थामा राखिएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि केवल सहकारी ठगी मुद्दा चलाउने र अन्य दुई मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेलले सो निर्णयविरुद्ध रिट दायर गरेका हुन्।


