काठमाडौं, चैत १६ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा विशेष छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा प्रदेशका समग्र र प्रत्येक निर्वाचन क्षेत्रका विशिष्ट समस्याबारे जानकारी लिइएको छ।
कोशी प्रदेशका सबै सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माण र अन्य समस्याबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका छन्।
प्रधानमन्त्री शाहले तत्काल समाधान गर्नुपर्ने मुख्य समस्या र त्यसका सम्भावित उपायहरूबारे सांसदहरूसँग जिज्ञासा राख्नुभएको थियो।
उपलब्ध बजेटका आधारमा प्राथमिकता निर्धारण गरी समस्याहरू छिटो समाधान गर्ने योजना प्रधानमन्त्रीले सुनाउनुभयो।
रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, प्रधानमन्त्रीले प्राथमिकताका आधारमा काम अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।


