काठमाडौँ, चैत १६ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश मेघराज पोखरेलको इजलासले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ। तत्काल रिहा गर्ने अन्तरिम आदेश भने दिएन।
अदालतले सरकारी पक्षलाई पक्राउ गर्नुको ठोस कारणसहित बहसका लागि उपस्थित हुन निर्देशन दिएको छ।
भदौ २३ र २४ को घटनामा छानबिनका लागि शनिबार पक्राउ परेका ओली र लेखकका तर्फबाट उनीहरूका श्रीमतीहरूले गैरकानुनी थुना भन्दै रिट दायर गरेका थिए।
ओली र लेखक दुवै हाल प्रहरी नियन्त्रणमा रहेका छन् र अदालतले थुनामा राखेर अनुसन्धान गर्न यसअघि नै अनुमति दिइसकेको छ।


