काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा तथा भवन खाली गर्न ल्याब स्कुलसहित विभिन्न संघ–संस्थालाई औपचारिक पत्र पठाएको छ।
त्रिविको सामान्य प्रशासन महाशाखाले पठाएको पत्रमा प्रयोगमा रहेका भवन र जग्गा तत्काल खाली गरी फिर्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र खाली नगरे सरकारी सहयोगमा बलपूर्वक हटाइने चेतावनी पनि दिइएको छ।
सरकारद्वारा गठित खोजबिन समितिको प्रतिवेदनअनुसार त्रिविको करिब २५ सय रोपनी जग्गा विभिन्न व्यक्ति, संस्था र निकायले अनधिकृत रूपमा प्रयोग गर्दै आएको पाइएको छ।
यसअघि त्रिविले ३५ दिने सूचना जारी गर्दै सबै अतिक्रमित संरचना खाली गर्न आग्रह गरिसकेको छ।


