काठमाडौँ — सरकारले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान देशभर सुरु गरेको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा नदी किनारका बस्तीमा डोजर चलाइएको छ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रका बस्ती हटाएपछि दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको व्यवस्था गरिनेछ। हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन् र अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
अभियान नुवाकोट, रुपन्देही र पर्सासहित देशका विभिन्न स्थानमा विस्तार गरिएको छ।
यता, मानवअधिकार एलायन्सले भने वैकल्पिक व्यवस्था बिना बस्ती हटाउनु उचित नभएको भन्दै प्रभावितसँग संवाद गर्न सरकारलाई आग्रह गरेको छ।


