काठमाडौँ — नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गर्दै सूचना जारी गरेको हो।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भूवनकुमार दाहाल सदस्य छन्।
बोर्डका पूर्वअध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि पद रिक्त भएको हो। नयाँ अध्यक्षका लागि स्नातकोत्तर तह उत्तीर्ण, कम्तीमा ७ वर्षको सम्बन्धित अनुभव तथा ३० देखि ६५ वर्ष उमेर सीमा तोकिएको छ।
इच्छुक उम्मेदवारले १२ वैशाखभित्र अर्थ मन्त्रालयमा आवेदन दिनुपर्नेछ।


