सरकारले इट्टा उद्योगबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ वातावरणीय मापदण्ड २०८२ लागू गरेको छ। नयाँ नियमअनुसार विभिन्न प्रविधिका भट्टाहरूका लागि चिम्नीको न्यूनतम उचाइ तोकिएको छ।
नेचुरल ड्राफ्ट बुल्स ट्रेन्च र हफम्यान क्लिनका लागि ३० मिटर, फोर्स ड्राफ्टका लागि १७ मिटर, भर्टिकल साफ्टका लागि १५ मिटर, टनेल क्लिनका लागि १० मिटर र हाइब्रिड हफम्यानका लागि ७ मिटर उचाइ अनिवार्य गरिएको छ।
साथै, टायर, प्लास्टिक, पेटकोक लगायत जोखिमपूर्ण फोहोर इन्धनका रूपमा प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। नयाँ उद्योगमा जिग–ज्याग प्रविधि अनिवार्य गरिएको छ भने पुराना उद्योगलाई दुई वर्षभित्र रूपान्तरण गर्न निर्देशन दिइएको छ।
धुलो नियन्त्रण, पानी छर्कने व्यवस्था, सुरक्षित ढुवानी र चिम्नीमा मापन पोर्ट निर्माण पनि अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ।


